सुनसरीको इटहरी हुँदै लमजुङको घलेगाँउ र पोखरासम्मको पाँच दिने यात्रा तय भइसकेको थियो । इटहरी नमुना कलेजमा स्नातक दोस्रो वर्ष सामाजिक कार्य र पत्रकारिता अध्ययनरत हामी २८ जनाको टोलि थियो । गुरुद्वय शैलेन्द्र राई र आर.बी.कट्वालसमेत गरी हामी ३० जना भएका थियौं । हाम्रो यात्राको सारथी थियो को १ ख ४६५५ ‘हलेशी दर्शन’ सारथी (बस) चालक कुमार राई दाई र एक जना सहचालक दाई ।
हाम्रो योजना मंसिर २४ गते शुक्रबार बेलुका ४ बजे कलेजमा भेला भएर हिँड्ने थियो । तर मेरो घर इनरुवा भएकाले म चाँही इनरुवा चोकबाट नै गाडी चढ्ने भएँ । झमक्क साँझ परिसकेको थियो । म इनरुवाबाट साढे ६ बजे गाडी चढेँ । इनरुवाबाट करिव दुई घण्टा लामो यात्रा पछि महुली पुगियो र त्यहिँको एक होटलमा हामी सबैले बेलुकीको खाना खायौं । खाना निकै मिठो र स्वादिलो लाग्यो । मिठो पनि किन नहोस्, जीवनमा पहिलो पटक ती हितैसी साथिहरुसँग एउटै टेवलमा खाना खाने अवसर प्राप्त जो भएको थियो । करिब एक घण्टाको बिश्राम पछि हाम्रो यात्रा अघि बढ्न थाल्यो । खाना खाइ सकेपछि अधिकांश साथीहरु निदाए त कोहि मोबाइलमा ब्यस्त भए । यता आफू भने साथीहरुसँगको सबै भन्दा लामो र रमाइलो यात्रामा निस्केको भएर हेला आँखामा फिटिक्कै निन्द्रा थिएन । शरिरमा अर्कै प्रकारको जोस र जाँगर आएको थियो र मैले ननिदाइ बाहिरको गन्तव्य हेर्दै गन्तव्यसम्म पुग्ने निधो गरेँ ।
चालक कुमार दाइको छेउमा बसेको म दाईसँग मिठा र रमाइला गफ गर्दै अघि बढ्यौं । दाइले गाडि चलाउन थालेको पनि २५ वर्ष भैसकेछ । उहाँले गाडि चलाउँदा आफुले पाएको अनुभव र विभिन्न ठाउँको अविस्मरणीय घटनाहरु सुनाउँदै गर्दा अलिकति पनि झर्को नमानी चाख दिएर सुनिरहेँ । बेलाबेला म पनि आफ्ना कुराहरु गर्थे ।
निरन्तरको यात्रापछि बिहानको पाँच बजे तिर त्रिशुली नदिको किनार मुङ्लिङमा पुगेपछि चिया खायौं । केही समय अगाडि गाडी जाम समेत भयो । त्यहाँबाट हिँड्दा उज्यालो भइसकेको थियो । करिव नौ बजे डुम्रे पुगेको हाम्रो टोलीले त्यहीँ खाजा खायौं । करिव एक घण्टाको विश्राम पछि हाम्रो यात्रा फेरि अघि बढ्यो, बेसिसहर हुँदै लमजुङ घलेगाउँ तर्फ । लमजुङको सदरमुकाम बेसिसहरसम्मको बाटो त राम्रै हो तर त्यहाँबाट घलेगाउँसम्मको बाटो निकै खराब र सानो पनि थियो । भौगोलिक बिकट्ता र साघुरो बाटोले गर्दा मनमा थोरै भएपनि त्रास सृजना भएको थियो तर हितैसी मित्रहरु सगँको लामो यात्रा र कति बेला घलेगाउँ पुग्नु भन्ने कौतुहलले गर्दा मन भित्र सिर्जना भएको त्रास मन भित्रै मर्यो । बेसिसहरबाट करिब दुई घण्टा जति उकालो लागेपछि अन्नपूर्ण हिमाल देखिँने रहेछ । त्यो दिनको मौसम निकै सफा भएकै कारण अन्नपूर्ण र मकालु हिमालको मनमोहक दृष्य गाडि बाटनै हेर्यौं ।
बेसिसहरबाट करिब ३ घण्टाको यात्रा गरेपछि हामी घलेगाउँ पुग्यौं । घलेगाउँ मात्र पुगिएन, यात्राको मुख्य गन्तव्यमा पुगियो । जीवनमा पहिलोपटक लमजुङमा टेकियो र सेल्युट पनि हानियो, अनि टिकटक पनि बनाइयो । आफ्नो मुख्य गन्तव्यमा सकुसल पुगेकोमा मन निकै हर्षित र चञ्चल गर्दै थियो । बसबाट ओर्लिएपछि हामी सबैेले आफ्नो आफ्नो झोलाहरु झिक्यौं र धेरै जना भएकाले को कता बस्ने, को सँग बस्ने भनेर त्यहि टुङ्गो लगायौं । आफ्नो आफ्नो झोला भिरेर त्यहाँ बाट हिँड्यौं । पहाडको बाटोे ढुङ्गा छापेर बनाएको थियो । कतै खुड्किला त कतै सम्म । तराईबाट गएका हामीलाई अनौठो र अलि अफ्टेरो त लाग्ने भइनै हाल्यो । केही मिनेटको यात्रापछि समुहमा बस्नेगरी आआफ्नो घर लाग्यौं । करिब तीन बजेको थियो त्यहाँ तीन बजे तिर पुगेका थियौं, हामी त्यहाँ पुग्दा खाना तयार पारिसकिएको रहेछ । दिनभरिको गाडीको थकान र भोकले गर्दा खाना निकै स्वादिलो र मिठो लाग्यो । चिसो मौसम, चादिँ झै टल्कने हिमाल, स्वछ हावा र स्थानीय परिकार अनि हितैसि मित्रहरु एउटै टेवलमा खाना खाँदा मिठो नहुने त कुरै भएन ।
हामी ६ जना केटाहरु चाँही घर नं ६ मा बस्यौं । अरु साथीहरु अरु घरमा । हाम्रो कोठाको ठिक अगाडिबाट अन्नपूर्ण हिमालको चुचुरो छर्लङ्ग देखिँदो रहेछ । कोठाबाट करिब १० मिनेट हिँडेपछि त्यहाँ पुगियो । एउटा ठूलो डाँडा अनि त्यस पारी हिमाल । छेउमा स्कुल र हेलिप्याड । खाना खाइसके पछि एक छिन आराम गरेर हामी त्यो डाँडामा चढ्यौं र फोटोहरु खिच्यौं । भोलीपल्ट तल्लो गाउँमा कार्यक्रम भएकाले त्यो गाउँको सबै जना उतै जानू हुने रहेछ । त्यसैले हामी पत्रकारिता विषयको प्रयोगात्मक अभ्यास अन्तरगतको सर्भे सोहि दिन साँझमा गर्यौ । बेलुकी आठ बजे खाना खाइसके पछि हामीले सोही ६ नंं घरको आँगनमा आगो बालेर नाचगान थालियो । जीवनमा कहिल्यै ननाचेको म पनि जानि नजानि अरुकै हेर्दै भएपनि रमाइलोको लागि नाच्न थालें । साथीभाई र गुरुहरुसँग नाच्दा नाच्दै समय बितेको पत्तै भएन । राति १० बजे आआफ्नो ओछ्यानमा पल्टियौं । अघिल्लो रातको अनिदो र थकानले गर्दा म त पल्टिने बितिकै निदाएछु ।
भोलिपल्ट अर्थात मंसिर २६ गते बिहान करिब ६ बजे उठ्यौं । फेरि अघिल्लो दिनको जस्तै सोहि डाँडाबाट घाम झुल्केको हेर्ने र अन्नपूर्ण हिमालको काखमा बसेर फोटो खिच्नको लागि गयौं । दिउँसो र साँझ हुँदै गर्दा बादलले हिमाल अलि मधुरो हुँदै जाने तर बिहानको बेला सफा र घामको प्रकाशले सुन्दर देखिने रहेछ । त्यो गाउँ र वातावररण सुन्दर भएर होला जति बसेपनि, जति घुमेपनि नथाकिने, अझै बसिरहन मन लाग्ने, फोटो खिचिरहन मन लाग्ने । केही समय घुमेर आएपछि खाना खायौं । खानापछिको केही समय हामीले धर्म, संस्कृति, मौलिकताका बारेमा केही स्थानीयसँग भलाकुसारी समेत गर्न भ्यायौं । दिउँसोको खाजा खाएपछि हामी फेरि सबै जना ६ नं घरको आँगनमा भेला भएर सामाजिक कार्यको प्रयोगात्मक अभ्यास सहभागितामूलक ग्रामीण मूल्यांकन (पीआरए) गर्यौ । त्यहाँको स्थानीय श्रोत साधनको प्रयोग गरेर निकै राम्रो नक्शा तयार समेत पारेका थ्यौं । त्यसपछि हामी त्यहाँको संग्राहलय अवलोकन गर्न गयौं । संग्राहलयमा स्थानीय र पूर्खाहरुले प्रयोग गरेको सामानहरु राखिएको रहेछ । गुरुङ समुदायको संस्कृति र चाडपर्वमा प्रयोग हुने विभिन्न सामाग्री साँच्चै नै अहिले समुदायमा भेट्न मुस्किल नै हुन्छ । माछा राख्न प्रयोग हुने बुन्द्रु, विभिन्न सामान राख्न चोयाबाट निर्मित खोऔ, अल्लोबाट बनाइएको नाएँ स्वीटर, बाजाहरु, जाँतो, हलो लगायतका विभिन्न सामाग्री हेर्दै निक्कै समय बितिसकेछ । सबैले फोटो र भिडियो पनि कैद गर्यौं ।
केहीबेरको घुमघामपपछि साँझ खाना खाएर फेरि अघिल्लो साँझ जस्तै आगो बालेर सबै जाना नाच्न थालियो । नाच्दै गाउँदै गर्दा समय बितेको पत्तै नपाइदो रहेछ । भोलिपल्ट फेरि बिहानै हामी त्यो सुन्दर ठाउँ छोडेर पोखरा तिर यात्रा अघि बढाउनु पर्नुथियो । त्यसैले त्यो २६ गतेको घले गाउँको अन्तिम रात पनि हामी दस बजे तिरनै सुत्नको लागि आआफ्नो ओछ्यानमा गयौं । दिनभरिको दौडधुपले गर्दा होला निकै थकान महसुस भएको थियो । ओछ्यानमा पुग्नासाथ निदाएछु । साथीहरु भने अबेरसम्म रमाइला गफ गरेर बसेछन् ।
भोलिपल्ट बिहानको खाजा खाएर हामी त्यहाँबाट बिदा भयौं । त्यहाँको संस्कृति र होमस्टेको संस्कार तथा नियम अनुसार सबैलाई चलन अनुसार चामलको सेतो टीका र माला लगाएर होमस्टे सञ्चालक घरधनीले बिदा गर्नुभयो । कस्तो रमाइलो अनि अनौठो चलन । हामी पनि खुसी भयौं, २ दिन भएपनि निकै रमाइलो र अविष्मरणीय बसाई थियो घलेगाउँको ।
घलेगाउँको त्यो मनमोहक दृष्य, स्वच्छ हावापानीलाई छाड्न मन नलाग्दा नलाग्दै पनि हामी त्यहाँबाट हिँड्यौं । दिउँसोको दुई बजे तिर हामीले तुर्तुरेमा खाना खायौं । भोक निकै लागेको भएर होला खाना निकै मिठो लाग्यो । घलेगाउँबाट करिब ६ घण्टा लामो यात्रा गरेपछि हाम्रो तीस जनाको जम्बो टोलि पोखरा पुग्यो । पोखरामा भएको डेभिड फल्स र गुप्तेश्वर महादेवको दर्शन गरेर हामी होटल सेनेटटरी तिर लाग्यौं । खाना खाएर साँझ नौ बजे तिर फेवातालको छेउछाउ घुम्न निस्किँयौं । केही जनाबाहेक धेरैको लागि पोखरा भ्रमण पहिलो नै थियो । लेकसाइडमा साँझको समय बत्ति र पर्यटकहरुको चहलपहलले निक्कै रमाइलो भइरहेको थियो । प्राय आन्तरिक पर्यटकहरु बढी देखिए । साँझ होस् या राती रमणीय दृश्यहरु अवलोकन गर्न पायौंँ । कतै झिलिमिलि बत्ति त कतै गीतसंगीतको रौनकले निकै आनन्द अनुभव गर्यौं सबैले । केही बेरको घुमघामपछि फर्कियौं होटल तिरै । दिनभरीको थकान र एकोहोरो यात्राले पनि होला छिट्टै निद्रा लाग्यो ।
भोलिपल्ट बिहानको चियाखाजा पछि फेवातालको बीचमा अवस्थित तालबराही मन्दिरको दर्शन गर्न अघि बढ्यौं । त्यसपश्चात अन्तर्राष्टिय माउन्टेन संग्राहलय अवलोकन गरियो । ठूलो क्षेत्रफलमा अवस्थित सो संग्राहलयमा निक्कै नै सामाग्री, फोटो, पर्वतारोहीहरुले प्रयोग गरेका कपडा तथा सामाग्रीहरु निकै थिए । संग्राहलय अवलोकन पछि पुनःहोटलमा आएर खाना खायौं ।
अब हामीलाई बिन्दाबासिनी मन्दिरको दर्शन, महेन्द्र गुफाको अवलोकन र बेगनासको तालमा बोटिङ्ग गर्दै घर फर्किनुथियो । साही अनुसार हामी निस्कियौं र बिन्दाबासिनी मन्दिरको दर्शन गर्यौं । महेन्द्र गुफा पनि गयौं । सेती नदिले सुस्केरा हालेको सुन्दै हाम्रो टोलि बेगनास ताल तिर अघि बढ्यो । त्यो ताल निकै सुन्दर र मनमोहक थियो । त्यहाँ एक घण्टा डुङ्गा चढेर घुम्यौं पनि । निकै रमाइलो हुँदै थियो, एक घण्टा बितेको पत्तै भएन । बोटिङ पश्चात खाजा खायौं र इटहरी फर्किनका लागि अघि बढ्यौं । झण्डै ६ बजेको रहेछ त्यहाँबाट निस्किँदा । त्यो पोखराको माछापुच्छ्र्रे, अन्नपूर्ण, मकालु हिमाल सेती नदि, फेवा र बेगनास तालको अविष्मरणीय र मनमोहक दृष्य छाडेर घर फर्किन मन त कसैलाई पनि थिएन । तर समय र परिस्थिति को बावजुत कसको के नै लाग्दो रहेछ ।
फर्किदा हाम्रो गाडीमा जाँदा जस्तो रमाइलो थिएन । गाडी सुनसान थियो । जाँदा जस्तो जोस जाँगर कसैको शरीरमा थिएन । सबैको अनुहार मलिन थियो । करिब चार घण्टाको लामो यात्रा गरेपछि नारारणघाट आएर करिब साढे ९ बजे खाना खायौं । खाना खाएर फेरि अघि बढ्यौं । बिहान ६ बजे सप्तरीको मनकामना होटलमा चिया खायौं र अघि बढ्यौं । बाटोमा निकै हुस्से लागेको थियो । कोशि व्यारेजको छेउ भएर होला बाक्लो हुस्से लागेको । हुुस्सुकै कारण गाडी चलाउन निकै सकस पर्दै थियो हाम्रो कुमार दाइ लाई । करिब साढे सात बजे तिर गाडी इनरुवा आइपुग्यो । म र साथी काजल इनरुवामै गाडीबाट उत्रियौं र आर.बी.गुरु पनि सोहि स्थानमा उत्रिनु भयो । तर, अन्य साथीहरु भने कलेजसम्म सोहि गाडिमा गए ।
हाम्रो पाचँ दिनको अविष्मरणीय यात्रा यसरी अन्त्य भयो । यात्रा यात्रामा मात्र सिमित भएन । हामीले धेरै विषयमा बुझ्ने मौका पायौं, नयाँ ठाउँको बारेमा जान्ने मौका पायौं । प्रयोगात्मक अभ्यासहरु गर्दा आइपर्ने चुनौति र समस्याहरु बुझ्यौं ।
सबै यात्रालाई शब्दमा कहाँ उतार्न सकिन्छ र ? सबै यात्रा विशेष कहाँ हुन्छन र ? तर, धेरै यात्रा भन्दा यो यात्रा मेरो जीवनको खास र अविष्मरणीय थियो ।
(लेखक इटहरी नमुना कलेजमा आमसञ्चार तथा पत्रकारिता अध्ययनरत छन्)
तस्बिर : आर.बी.कट्वाल