रिकेश निरौला
युवा शब्द सुन्नेबितिकै हरेक मानिसको मनमस्तिकमा जोशजाँगर र उमङ्गले भरिएको एउटा मानवचित्र नाच्न थाल्छ । यस्तो हुनु पनि स्वाभाविक नै हो, किनभने आजसम्म मानव समाजमा जे जति आमुल परिवर्तन र आविष्कार भएका छन्, ति सबै युवाको सक्रिय सहभागिता र पहलमा मात्र सम्भव भएका छन् । यस अर्थमा युवा आर्थिक, सामाजिक र राजनीतिक परिवर्तनका खलनायक हुन् । यसै सन्दर्भलाई लिएर एक चिनियाँ क्रान्तिका महानायक माओत्सेतुङले युवालाई लक्षित गर्दै भनेका छन्, ‘युवाहरु हो, यो संसार तिमीहरुको हो ।’ यसरी युवा शब्दले हाम्रो मस्तिष्कमा खिच्ने तस्बिर र माओत्सेतुङजस्ता महान व्यक्तिको उक्ति सुन्दा युवा ऐतिहासिक जिम्मेवारी बोकेको समाज परिवर्तन र देश विकासको मेरुदण्ड हुन् भन्ने मान्न सकिन्छ, तर आज अधिकांश युवा युवतीमा यो ऐतिहासिक जिम्मेवारी र कर्तव्यबोध भएको पाइँदैन ।
उपभोक्तावादी संस्कारले गिजलिरहेका बेला अध्ययनमा अरुचिका कारण युवाहरु झन् गैर जिम्मेवारी दिशाबिहीन बनिरहेका छन् । बढ्दो बेरोजगारी र अशिक्षाले युवाहरुको आफ्नो भविष्य अन्धकारतिर अघि बढीरहेको छ । गाँउ समाजमा यस्तो परिदृश्य देखिनु भनेको हामी सबैको भविष्य पछाडि धकेलिनु हो । तथापि आज देशमा शिक्षित युवा नभएका भने पनि होइनन्, तर कमजोर चेतनाका कारण तिनिहरु कुनै न कुनै गलत प्रवृत्तिका सिकार भइरहेका छन् । जसका कारण युग बदल्ने ऐतिहासिक जिम्मेवारी बोकेका युवाशक्ति आज केही सिमित टाठाबाठाको स्वार्थ पूरा गर्ने भर्याङ र कमाई खाने भाँडो मात्र बनिरहेका छन् । यो युवामा रहेका अन्तर्निहित क्षमता र शक्तिको विपरीत कुरा हुन् ।
नेपालको राजनीतिमा त झन् उच्च राजनीतिक नेतृत्वबाट नै युवाहरुको व्यापक दुरुपयोग भइरहेको छ । युवालाई आफूमाथि कहिल्यै प्रश्न नगर्ने मानव परिचालित रोबटमा परिणत गर्ने खोजिरहेका छन् । यो समाजका लागि निकै दुःख लाग्दो कुरा हो । त्यसैले युवामा आलोचनात्मक चेतको विकास हुन अत्यन्त जरुरी छ । किनकि आलोचनात्मक चेतले मात्र सहि र गलत छुट्याई समाजमा घट्ने विभिन्न घटनापरिघटनाबारे तथ्यमा रहेर समर्थन वा विरोध गर्न सिकाउँछ । तर चेतनाविहीन समाजमा घट्ने त्यस्ता अनेक घटनाको वा कुनै पनि कुराको अन्धविरोध गर्छन्, कि त अन्धसमर्थन वा विश्वास गर्न पुग्छन् । यो प्रवृतिले समस्याको जडसम्म कहिल्यौ पुर्याउँदैन । नेपाली राजनीतिमा आज जेजति युवा देखिएका छन, सबै भन्दा बढी यही प्रवृत्तिका शिकार बनिरहेका छन् । जसको पछिल्लो ताजा उदाहारण सत्तारुढ नेकपाका युवा नेता भनेर चिनिने महेश बस्नेत, योगेश भट्टराई, शेरधन राई लगायतका नेताहरुहरुलाई लिन सकिन्छ ।
‘प्रधानमन्त्री ओलीका लागि म धरहराबाट पनि सजिलै हामफाल्न तयार छु’ भन्ने बस्नेतको अभिव्यक्ति सामाजिक सञ्जालमा निकै भाइरल भएको थियो । यो आफ्नो पार्टीभित्र अनेक काण्डैकाण्ड र पदको लडाइँबारे मौन रहेर कुनै नेताविशेषको स्वार्थका लागि आफ्नो ज्यान कुर्बानी गर्ने कुरा विशुद्ध नेताको चाकडि शिवाय अरु केही होइन । किनभने महेश बस्नेतहरुले अहिलेसम्म जेजति सफलता प्रप्त गरेका छन् र अबको राजनीतिक भविष्य पनि यही चाकडी र चाप्लुसीमै बढी सुरक्षित र सम्भावित देख्छन् । किनकि अहिले नेपालको राजनीतिमा योग्यता, क्षमता, त्याग, तपस्या र बलिदानको कुनै गुञ्जाइस छैन ।
किनकि आलोचनात्मक चेतले मात्र सहि र गलत छुट्याई समाजमा घट्ने विभिन्न घटनापरिघटनाबारे तथ्यमा रहेर समर्थन वा विरोध गर्न सिकाउँछ । तर चेतनाविहीन समाजमा घट्ने त्यस्ता अनेक घटनाको वा कुनै पनि कुराको अन्धविरोध गर्छन्, कि त अन्धसमर्थन वा विश्वास गर्न पुग्छन् ।
त्यसैले ओमनि ग्रुपलगायतका संरक्षक तथा जनताबाट ‘करप्रसाद’ उपनाम पाएका केपि ओली कसैलाई प्राण प्रिय लाग्छ त कसैलाई लाग्दैन । जनयुद्धको नाममा सत्र हजार गरिब, सोझा र निमुखाका छोराछोरीलाई आफ्नो ज्यानको उत्सर्ग गर्न लगाएर आफू मोजमस्ति, आन्नददायी र सबैभन्दा विलासि जीवन बिताउने पुष्पकमल दाहाल ‘प्रचण्ड’ कसैलाई प्रणभन्दा प्यारो लाग्छ त कसैलाई लाग्दैन । राजनीतिमा इमान, इज्जत र नैतिकतालाई तिलानजलि दिएका महान नेता शेरबहादुर देउवामा अझै पनि केही युवाको साथ र समर्थन लिएर भावि प्रधानमन्त्रि बन्ने भोक र सोख उस्तै नै देखिन्छ । अझ पञ्चायतका मतियार कमल थापा आज गणतन्त्र नेपालमा पनि केही युवाहरुको प्राणपखेरु नै बनिरहेका छन् ।
यी सबै एउटा सचेत नागरिकको आँखाबाट हेर्दा अस्वाभाविक लाग्ने दृश्य स्पष्ट वैचारिक धरातलको जगमा निर्माण भएका हुन् र आलोचनात्मक चेतको अभावका परिणाम हुन् । त्यसैले अब समाज रुपान्तरण गर्ने अभिभारा बोकेको युवाशक्ति आफ्नो स्वमूल्याङकन र सिंहवलोकन गर्न एकदम टड्कारो देखिन्छ । कामकर्तव्य एकातिर, व्यवहार कुम्लो बोकि ठिमी तिर त भइरहेको छैन भनेर आफ्नै मनलाई प्रश्न गर्ने बेला आएको छ । यो प्रश्नको उत्तर आफ्नै मनमा खोज्ने साहस युवाले गर्ने हो भने त्यस प्रश्नबाट प्राप्त उत्तरमा युवाको स्वयम् आफ्नो जीवन र समाजको स्प्रष्ट चित्र देख्नेछन् र त्यस चित्रमा आफ्नो स्थान कहाँ छ भनेर अवश्य खोज्ने छन् । आफ्नो स्थानको खोजी गर्नु भनेको आफ्नो हैसियत वनस्तविक स्थिति जान्नु हो । आफ्नो वास्तविक शक्ति र सामथ्र्य थाहा पाउनु हो र आफ्नो हैसियत पत्ता लाउनु भनेको आफ्नो वास्तविक स्थिति जान्नु हो । आफ्नो वास्तविक शक्ति र सामथ्र्य थाहा नभएकै कारण आज युवाको एउटा विशाल पङ्क्ति कथित ठूला राजनीतिक दलको एसमेन र विभिन्न झुण्ड, स्वार्थि समुहको गोटी मात्र बनिरहेका छन । जसका कारण आफ्नो व्यक्तिगत जीवन मात्र होइन समग्र समाजको मुहार नै परिवर्तन गर्न सामथ्य राख्ने युवाशक्तिले आज राजनीतिमा व्यापक वितृष्णा र समाजप्रती चरम निराशा व्यक्त गरिरहेका छन् ।
निश्चय नै कुनै कुराको सीमा हुन्छ, तर अहिले हाम्रो समाजमा भ्रष्टचार, अनियमिता, बलात्कार, घुसखौरि, कालोबजारी, दलालि, गरिब, किसान र मजदुरमाथिको नाङ्गो लुट, विभिन्न नाममा मान्छेले मान्छेमाथि गर्ने विभेद र युवाको व्यापक दुरुपयोगले सीमा नाघिरहेको छ । आफ्नो नागरिकप्रतिको राज्यको यो अनुदारत र निकृष्ट व्यवहारका कारण आज युवामा यो विभेदकारि नीति, नियम र गैरजिम्मेवारि राज्यव्यवस्थामाथि नै चरम अविश्वास र घृणा पैदा हुन थालेको देखिन्छ र त्यसका विरुद्ध र विकल्पमा समतामुलक नयाँ चेतनाको अङ्कुरण युवाको मस्तिष्कमा भइरहेको छ । आज बिरुवाको रुपमा देखिएको यो नवीन चेतना नै भोलि तराईको एउटा कुनाको फाँटदखि पहाडको कुनाकन्दरा हुँदै हिमालयको चुचुरोसम्म पुगेर मक्किसकेको पुरानो मान्यता र विचारमा टिकेको अहिलेको हाम्रो सामाजिक संरचनाको स्थापना गर्ने छन्, जहाँ कसैले पनि विभिन्न जातपात, धनिगरिब र धर्मको आभारमा विभेदको महशुुससम्म गर्न पाउने छैनन्।
त्यसैले आजका दिनसम्म समयले नेपाली युवालाई आह्वान गरिरहेको छ, युवाहरु हो, तिमीहरुको जीवनमा आज रहेको सबैभन्दा मूल्यवान वस्तु समय हो । जीवनकै यो मूल्यवान र स्वर्णिम समयको अत्यधिक र प्रभावकारि प्रयोगबाट तिमीहरु आफ्नो व्यक्तिगत जीवनको चित्र मात्र होइन, समाजकै चित्र बदल्न सक्ने छौ । त्यसो भए आफूभित्र अन्तर्निहित यत्रो विराट र अजेय क्षमता बोकेर युवा, तास, चेस, लुँडो, पब्जि जस्ता खेल खेलेर समय ब्यतित गर्ने बहानामा निरीह भएर किन बस्ने ? तसर्थ युवापङ्तिले अब सोच्नैपर्छ, केही त गर्नै पर्छ । किनकि युवाहरुको भाग्यको बिधाता युवाहरु स्वयम् आफै हो । त्यसैले आफ्नो भाग्यको निर्माण आफै गर्दै सत्य, न्याय र समानतामा आधारित समाज निर्माणका लागि युवा आफ्नो ऐतिहासिक दायित्व र भूमिका निर्वाह गर्नबाट किमार्थ चुक्नु हुँदैन । आफ्नो हकहित र समाज परिवर्तन का लागि सँधै लडिरहनु पर्छ । कुनै पनि चिज सजिलैसँग प्राप्त हँुदैन, हरेक प्राप्तीका लागि मेहनत र संघर्ष अति आवश्यक हुन्छ ।
(लेखक इटहरी नमुना कलेजमा आमसञ्चार तथा पत्रकारिता अध्ययनरत छन् ।)
समसामायि लेख । उत्कृष्ट लाग्याे ।
समय सान्दर्भिक