गत चैत्रमा रामधुनी ६ बक्लौरीका घनश्याम चौधरी विभिन्न रोगबाट पीडित भए । विश्वव्यापी फैलिएको कोभिड १९ को रोकथामका लागि सरकारले चैत्र ११ बाटै लकडाउन घोषणा गरेको थियो । लकडाउनकै बीचमा एक दिन उनलाई रोगले झन् च्याप्यो । हस्पिटल लैजानैपर्ने गम्भीर अवस्थामा पुगेपछि परिवारका सदस्यले एम्बुलेन्स बोलाए, तर कुनै पनि एम्बुलेन्स आउन मानेनन् ।
त्यस्तै रामधुनी ९ डुम्राहकी एक महिलामा प्यारालाइसिसको जटिल समस्या देखियो । उनलाई जसरी पनि अस्पताल लैजानुपर्ने भयो । एम्बुलेन्सलाई फोन गरे । तर, एम्बुलेन्स विभिन्न बहाना बनाउँदै पन्छिन खोजे ।
यि दुई प्रतिनिधि घटना मात्रै हुन् । रामधुनी नगरक्षेत्रसहित छिमेकी नगरमा समेत लकडानउको समयमा एम्बुलेन्सले बिरामी बोक्न मानेनन् । सरकारले लकडाउन घोषणा गरेको सुरुवाती दिनमै एम्बुलेन्सहरुले बिरामी बोक्न नमान्ने खालका खबर सुनेपछि रामधुनी ५ झुम्काका सुरेन्द्र श्रेष्ठले फेसबुकमा घोषणा गरे, ‘बिरामीलाई मात्र रु एक हजारमा विराटनगर वा धरानको हस्पिटल पुर्याउने ।’
उनले यस्तो घोषणा गर्नुअघि निकै सोचे । एम्बुलेन्सले बिरामी नबोकेपछि बिरामीको अवस्था के होला ?, मेरो निजी गाडीमा बिरामी राखेर सेवा गर्दा किन हुँदैन ? अन्ततः जोखिम मोलेरै भएपनि बिरामीको ज्यान जोगाउने अडान राखेर सो घोषणा गरे । उनी भन्छन्, ‘एम्बुलेन्सले बिरामी बोक्न नमानिरहेको अवस्थामा मैले निजी गाडीमै भएपनि अस्पताल पुर्याउन पाए धेरैले साधन नपाएरै ज्यान गुमाउनु पर्दैन भनेर यस्तो घोषणा गरेँ ।’
माथीका दुबै प्रतिनिधी बिरामीले एम्बुलेन्स आउन नमानेपछि श्रेष्ठलाई बोलाए । पूर्व राष्ट्रिय खेलाडी समेत रहेका श्रेष्ठले ती दुईसहित अहिलेसम्म करिब तीन सय जना बिरामीलाई हस्पिटल पुर्याइसकेका छन् । अहिले पनि त्यतिकै मात्रामा बिरामीको फोन आइरहेको उनी बताउँछन् ।
सामाजिक सञ्जालमा घोषणा त गरे तर, त्यसपछिको अवस्था त्यती सहज भने थिएन । पहिलो त सबैतिर लकडाउन, सवारी पासलगायतका व्यवस्था मिलाउन गाह्रो । परिवारबाट पनि सुरुमा त सकेसम्म यस्तो जोखिम नमोल्न नै सल्लाह आउँथ्यो । तर, पछि उनले बुझाउँदै जाँदा परिवारका सदस्यबाट पनि आफूपनि सुरक्षित रहेर सेवा गर्न भनेपछि उनले थप हौसला पाए । उनी भन्छन्, ‘कोरोना संक्रमणको अवस्थामा जोखिम मोलेर काम गर्न कुन परिवारले पो भन्छ र । उद्देश्य राम्रो भएपनि जोखिमको हिसाबले सुरुमा केही दिन गाह्रो भयो । तर पछि परवारबाट पनि सपोर्ट हुँदा थप हौसला मिल्यो ।’
परिवार र साथीभाइको सकारात्कम प्रतिक्रियाले झन् हौसला बढाएको उनले बताए । उनी भन्छन्, ‘सामाजिक सञ्जालमा आएका प्रतिक्रिया, परिवार तथा साथीभाइको सहयोगले काम गर्ने हौसला बढेर आयो । साथीभाइ बाहेक स्वयम् बिरामी र उनका आफन्तको प्रतिक्रियाले राम्रै गर्दैरहेछु भन्ने लाग्यो ।’
सुरुवाती समयदेखि नै सुरक्षित रहनका लागि आफैले किनेर सामान्य पञ्जा, मास्क, पुरा शरिर ढाक्ने कपडा, सेनिटाइजर प्रयोग गर्दै बिरामीलाई अस्पतालसम्म पुर्याए । अहिले पनि पुर्याइरहेका छन् । स्थानीय तह नगरपालिकाको कार्यालय र वडाकार्यालहरुले पनि यस विषयमा जानकारी पाएपनि कुनै सहयोग नगरेकोमा उनको गुनासो छ । नगरपालिकाले बरु बिरामी बोक्न आनाकानी गर्ने र बोक्न नमान्ने एम्बुलेन्स चालकलाई पीपीइ दियो । उनी भन्छन्, ‘नगरपालिका वा वडाकार्यालयले केही व्यवस्था गर्छ भनेर सोच्थेँ, तर कहीकतैबाट केही सहयोग उपलब्ध भएन । बरु झुम्काका साथी सन्दीप राउत र काठमाडौंबाट निर्मला ढकाल अधिकारीबाट पीपीई प्राप्त गरेँ ।’
‘लकडाउनको समय । सबैतिर प्राय सुनसान । बाटोमा कतिपटक स्पष्टीकरण दिनुपथ्र्यो भन्न सकिन्न’ उनी भन्छन् । बाटोमा आउने समस्याहरुलाई इलाका प्रहरी कार्यालय पकलीले समाधान गरेको र हरेक काममा इप्रका पकलीले समन्वय गरेको उनी सम्झिन्छन् । राति समेत धेरै फोन आउँदा समयमा र पर्याप्त सुत्न समेत गाह्रो भएको उनी बताउँछन् । उनलाई रामधुनी नगरसहित छिमेकी नगर बराहक्षेत्रको चतरा, महेन्द्रनगर, प्रकाशपुर र इनरुवाबाट समेत धेरैले फोन आउँथ्यो । र उनले सबै क्षेत्रमा गएर बिरामी बोके पनि ।
कोरोना संक्रमणको समयमा बिरामी बोकेर अस्पताल आउजाउ गर्दा जति जोखिम थियो त्यो भन्दा बढी जोखिम उनका लागि विभिन्न देशबाट आएर लुकेर बसेका व्यक्तिहरुको परीक्षणका लागि अस्पताल पुर्याउँदा थियो । ‘एम्बुलेन्सले स्थानीय बिरामीलाई त बोक्न नमानेको अवस्थामा विदेशबाट आएर लुकेर बसेकाहरुलाई पुर्याउन सक्ने कुरै भएन,’ श्रेष्ठ सम्झिन्छन्, ‘मैले इलाका प्रहरी कार्यालयको अनुरोध र समन्वयमा पाकिस्तानबाट आएर पकलिथित मस्जिदमा बसेका ७÷८ जनालाई समेत स्वाब परीक्षणका लागि अस्पताल लगेँ । त्यो मेरालागि झन् जोखिम अवस्था थियो ।’
यतीका धेरै बिरामीलाई समयमै अस्पताल पुर्याउन लागि परेका श्रेष्ठलाई यतिबेला भने आफ्नै परिवारमा समस्या आइपरेको छ । उनले अन्य बिरामीलाई त अस्पताल पुर्याए, यतिबेला आफ्नै श्रीमतीलाई नियमित अस्पताल पुर्याइरहेका छन् ।
श्रीमतीको दुवै मृगौलामा समस्या आएपछि यतिबेला उनी थप तनाबमा छन् । मध्यम स्तरको परिवार, व्यापारव्यवसाय नै आम्दानीको स्रोत । लकडाउनले करिब ४ महिना व्यवसाय पनि ठप्प । श्रीमतीको उपचार (मृगौला ट्रान्सप्यारेन्ट)का लागि निकै रकम लाग्ने चिकित्सकले बताएपछि यतिबेला श्रेष्ठ उपचार खर्चको खोजीमा छन् । र विभिन्न ठाउँबाट उनले सहयोग, सापटी, ऋण समेत संकलन गरिरहेका छन् । यतिबेला हरेकदिन उनले आफ्नो फेसबुक टाइमलाइनमा सहयोग गर्नेहरुको नामावली समेत पोस्ट गर्ने गरेका छन् ।
बिरामीलाई सहयोग गर्ने समयसीमा नरहेको उनी बताउँछन् । जीवनभर र आफूसँग गाडी रहुञ्जेल रु एक हजारमै अस्पताल पुर्याउने उनले घोषणा गरेका छन् ।