७ दलको समर्थन जुटाएर प्रधानमन्त्री दाबी गर्न नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड शितल निवास पुगेका छन् । आइतबार अपरान्ह प्रचण्ड राष्ट्रपति निवास शितल निवास पुगेका छ्न्। साथमा नेकपा एमालेसहित दलका नेताहरू पनि शितल निवास पुगेका छन्।
आज बालकोटमा भएकाे एमाले, माओवादी, रास्वपा, राप्रपा, नागरिक उन्मुक्ति पार्टी, जसपा, जनमत पार्टीकाे बैठकले प्रचण्डलाई प्रधानमन्त्रीमा अघि सार्ने निर्णय गरेका थिए। यी सबै दलबाट गरी प्रतिनिधि सभामा १६६ जना सांसद छन्।
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालसहित नयाँ गठबन्धन दलका शीर्ष नेताहरू सरकार गठनको दाबी गर्न राष्ट्रपतिकाे शितल निवास पुगेका छन् । एमाले अध्यक्ष ओलीको निवास बालकोटमा आइतबार बसेको नयाँ गठबन्धनको बैठकले माओवादी केन्द्रका अध्यक्ष दाहाललाई प्रधानमन्त्री बनाउने सहमति गरेको छ ।
उक्त सहमतिअनुसार पहिलो साढे २ वर्षका लागि दाहाललाई प्रधानमन्त्री बनाउने र बाँकी अवधि एमालेको नेतृत्वमा सरकार गठन गर्ने भनिएको छ ।
यसका लागि एमाले र माओवादीसहित हालसम्म ७ दलहरूले सहमति जनाएका छन् । जसमा संसद्मा २० सिट रहेको राष्ट्रिय स्वतन्त्र पार्टी, १४ सिट रहेको राप्रपा, १२ सिट रहेको जनता समाजवादी पार्टी, ६ सिट रहेको जनमत पार्टी, ४ सिट रहेको नागरिक उन्मुक्ति पार्टीले सहमति जनाएका छन् ।
नेपाली कांग्रेससँग मिलेर सरकार गठन गर्ने अवस्था नदेखिएपछि माओवादी केन्द्रका अध्यक्ष दाहाल आइतबार दिउँसो कांग्रेस सभापति शेरबहादुर देउवासँगको बैठकपछि ओलीसँग छलफल गर्न सिधै बालकोट पुगेका थिए ।