नेपाली कांग्रेसले प्रदेश १ मा संसदीय दलको नेता छान्न ५ सदस्यीय निर्वाचन समिति गठन गरेको छ । राष्ट्रियसभा सदस्य तथा कांग्रेस प्रदेश १ उपसभापति रमेशजंग रायमाझीको संयोजकत्वमा निर्वाचन समिति गठन गरिएको हो ।
समिति सदस्यमा कांग्रेस प्रदेश १ का महामन्त्री उमेश थापा, रेगिना भट्टराई, लक्ष्मी चौधरी र नन्द नेम्वाङ रहेको कांग्रेस प्रदेश १ का सह महामन्त्री प्रमिला गच्छदारले बताइन् । उनले पार्टीको प्रदेश १ कार्य सम्पादन समितिको बैठकले दलको नेता छान्नका लागि निर्वाचन समिति गठन गरेको बताइन् ।
कांग्रेस संसदीय दलको विधानमा संसदीय दलको नेताको निर्वाचन गराउन र निर्वाचन गर्न प्रक्रिया निर्धारणका लागि पार्टीको प्रदेश समितिले एक निर्वाचन समिति बनाउने व्यवस्था छ । दलको नेता चयनका लागि प्रक्रिया तथा कार्यतालिका निर्धारणका लागि निर्वाचन समितिको बैठक कांग्रेसको प्रदेश १ कार्यालयमा बसिरहेको सहमहामन्त्री गच्छदारले बताइन् ।
यस प्रदेशमा कांग्रेस संसदीय दलको नेताका लागि आन्तरिक मामिला तथा कानुनमन्त्री केदार कार्की, केन्द्रीय सदस्यहरु अमृत अर्याल, प्रदीप सुनुवार, भीम पराजुली र प्रदेश समिति सभापति समेत रहेका उद्धव थापा आकांक्षी छन् । पार्टीको संस्थापन पक्षका अर्याल र सुनुवार, कांग्रेस नेता कृष्णप्रसाद सिटौला पक्षका पराजुली र थापा र संस्थापन इत्तर पक्षबाट कार्की हुन् ।
यस प्रदेशमा कांग्रेसको २९ सांसद छन्‚ जसमा संस्थापन र संस्थापनइतर पक्षका १०/१० र सिटौला पक्षका ९ जना प्रदेश सांसद रहेको कांग्रेसका प्रदेश सांसदहरूको भनाइ छ ।