देशमा चलेको सशस्त्र द्वन्द्वका बेला नेपाली बहादुर सेनाको रुपमा रहँदा आफूले भोगेका यथार्थपरक घटनालाई उपन्यासकार चन्द्र कटुवालले ‘सिपाहीको डायरी’मा सजीवन चित्रण गरेका छन् । सिपाहीको डायरी उनको पहिलो कृति हो । राष्ट्रियता, सेनाको अनुशासन, ब्यक्तिगत जीवन, माया प्रेम र पुनर्जन्मलाई उपन्यासकार कटुवालले सटिक रुपमा डायरीमा उतारेका छन् । सशस्त्र द्वन्द्वको अन्तिम युद्धको रुपमा रहेको कालिकोटको पिली आक्रमणमा भण्डै मृत्युको मुखमा परेर बाँचेका सिपाही कटुवालको किरियासमेत भएको थियो । उपन्यासकार कटुवाल देशमा शान्ति प्रक्रिया थालनीसँगै नेपाली सेनामा आठ वर्षअघि जागिर छोडी अहिले योग र महिला विषयमा विद्यावारिधि गर्दैछन् । प्रस्तुत छ उनै लेखकसँग खबरबिटका युवराज कटुवालले गरेको संवादका केही सम्पादित अंश ।
१. सिपाहिको डायरीमा के छ ?
सिपाहीको डायरीमा के छ भन्नुभन्दा पनि के छैन भन्नु बेश होला जस्तो मलाई लाग्छ किनभने यो अनुभवन्यास हो । यसमा समाज छ, समाजशास्त्रीय दृष्टिकोण छ । १० वर्षे शसस्त्र बिद्रोहको ऐना छ । जसले अहिलेका शासकहरुलाई खबरदारी गर्छ । युद्धका बेला जनताले पाएको सास्ति छ जनताले दिएको बलिदानि छ । जसले यो परिवर्तन त्यसै आएको हैन है भनेर खबरदारी गर्दछ । लडाई के हो यो कति भयानक हुन्छ ?, सिपाही कसरी बन्छ ?, लडाईलाई एउटा सामान्य मानिसले बुझ्ने र सिपाहीको बुझाइमा के भिन्नता छ ?, लडाईमा सिपाहीको मनोविज्ञान सान तथा अभिमान कस्तो हुन्छ ? साथै के सिपाही कठोर मात्रै हुन्छ ? भन्ने आमबुझाइ छ । त्यो बुझाइलाई त्यसो हैन सिपाही एक जिम्मेवार तथा मानवतावादी पनि हुन्छ किनभने लमजुङको पाचोकको जंगलमा फेलापरेको सुत्केरी छापामारलाई देखेर पनि नदेखेझै गरि त्यसको प्राण दान दिनु जबकी त्यो छापामारले पनि त्यो सिपाहीलाई छोड्ने थिइन किनकी सुत्केरी भएर पनि उसले बम बोकेकी थिइ ।
साथै लडाइमा मरेको आफ्नै साथीको छोरालाई पाल्छु भनेर बोल्ड डिसिजन गर्ने सक्ने परिपक्कव मानिस हो सिपाही भन्ने पनि देखाइएको छ । बिबिको सिपाही कथा पढेर प्रभावित भएकोले त्यसको थप ब्याख्या पनि हो यो । समाजमा अपाङ्गता भएका ब्यक्तिलाई जुन रुपले हेरिन्छ त्यसलाई परिवर्तन गर्नुपर्छ भन्ने सन्देश सिपाहीको डायरीले बोकेको छ । अपाङ्गता भएका ब्यक्ति निरिह हैनन् लडाईका भेट्रान पनि हुन भन्ने सकारात्मक सन्देश दिन खोजिएको छ । चारैतिर समस्याले घेरिएर झोक्रायर बसेका युवालाई कसरी अगाडि बढ्न सकिन्छ भन्ने मोडिभेसन दिने अर्थात डरको अगाडि जित छ भन्ने सन्देश समेत प्रस्तुत गरिएको छ ।
पुस्तकमा अर्को पाटो, लगातार अगाडि बढिरहे गन्तव्य भेटिन्छ भनेर सकारात्मक सन्देश दिन खोजिएको छ । साथमा लडाई कति भयानक थियो ?, लडाईमा कति प्रताडित गरियो ?, सिपाहीलाई छोपेर पनि बाँधेर कसरी गोलि हानियो ?, तथा तत्कालिन शासक र बिद्रोही कति क्रुरर थिए तर त्यो छिटै बिर्सेर आज नेताहरु कता गए । साधारण मानिस लाई के को नाममा लडाइयो ?, र त्यसपछि हिजोका लडाईका छर्रा बोकेका छापामारहरु कसरी दुखाई कम गर्नका लागि ठर्राको सहरा लिएर बाँचेका छन् ? भने तिनका मालिक कहाँ गए भनेर त्यसको उत्तर खोजिएको पुस्तक हो यो ।
सायद समाज सुधार भएको भए सायद यो पुस्तक आउदैन थियो । यसको म पात्र शरीरमा बमको छर्रा बोकेको पात्रको कथा हो । जसले लामो समयसम्म समाजमा परिवर्तन होला, उसको बलिदानिले समाजसुधार होला भनेकोमा त्यो नभएर उसको घाउले पोलेर आफ्नो मातृभूमिप्रतिको मायाले बाहिर आएको आक्रोस हो यो । लडाईमा एकजना सिपाहीको साँच्चिनै काजक्रिया गरेर पनि पछि अपहरणबाट मुक्त भएर आएपछिको सत्य घटनाको नालिबेलि हो यो । यो केवल सिपाहीको मात्र नभएर छापामार किसान, मजदुर, विद्यार्थी तथा सम्पूर्ण नेपालीको कथा हो ।
आफ्नै देशमा आफ्नै दाजुभाईबिरुद्द गोली हान्दा सिपाहीको हात कित काँप्छ ?, जबकी सिपाही भनेकै दुश्मनसँग लड्ने नै हो । साथमा जताको भएपनि सानो दर्जाको पिरमर्का एउटै हो । यद्ध मैदानमा दुश्मनको रुपमा लडेका सिपाहीलाई अपहरण गरेर लैजादा छापामार र सिपाहीबीचको आत्मीयताले हामी एकअर्काका दुश्मन थिएनौ तर दुश्मन बनाइएको थियो भन्ने यथार्थ घटनामा आधारित छ । यसलाई मनोरन्जनका लागि १० प्रतिशत फिक्सनाइज्ड गरिएको छ । यथार्थ तथा इतिहास बोकेको तत्कालिक समाज बुझ्नको लागि तत्कालिन समाजको ऐना हो ‘सिपाहीको डायरी’
२. तपाईं कस्ता विषयमा किताब लेख्न रुचाउनुहुन्छ ?
भर्खर पाइला टेक्दै छु । त्यसैले म लेख्ने भन्दा पनि टिपोट गर्ने भन्न रुचाउँछु । समाजको चित्र देखाउने खालको विषयवस्तुमा टिपोट गर्न पाए हुन्थ्यो भन्ने लाग्छ । फिक्सन पनि यथार्तपरक मनपर्छ ।
३. कस्ता पुस्तक पढ्न रुचाउनुहुन्छ ?
मेरो युद्द साहित्य पहिलो रोजाईमा पर्दछन् । फिक्सन र ननफिक्सन दुवै मनपर्छ । बायोग्राफि र इतिहासका पुस्तक पनि रुचाउँछु । प्राय सबै किसिमका पुस्तक मनपर्छ मलाई । विद्यालयको कोर्षमा भएको बिपिको सिपाही र भैरव अर्यालको जयभुडीँ सबैभन्दा बढी मन परेको खुराक हो ।
४. नेपाली साहित्यमा धेरै जना आउँदै हराउँदै गरिरहनुभएको छ ? तपाईंको पनि त्यस्तै त हैन नि ?
गज्जबको कुरा सोध्नुभयो । मलाई जवाफ दिन अलि अलि अप्ठ्यारो भयो । म पढेर चाहिँ योगदान दिन्छु जस्तो लाग्छ । म साहित्यमा आउन नै बाँकी छ । आउन सकेँ भने भोलि हेरौला । यो त एउटा टिपोट मात्र हो । अनुभव र समाजमा देखे भए गरेका कुरालाई टिपेर डायरी बनाएको मात्रै हो । म साहित्यमा रुचि राख्छु अलि पकड कम छ सिक्ने र बुझ्ने प्रक्रियामा छु । बुझ्नलाई बामे सर्दै छु ।