सुनसरी । थारु समुदायमा आजबाट जितिया पर्वको सुरु भएको छ । सुरवातसंगै रौनक पनि गाउँघर तिर थपिएको छ । लगातार तीन दिनसम्म मनाउने जितिया पूर्वी तथा मध्य नेपालका प्रदेश १ र २ का थारु बाहुल्यता रहेका क्षेत्रमा धुमधामका साथले मनाउने गरिन्छ । पूर्वका जिल्लामा करिब ६ लाख थारु समुदायको जनसंख्या रहेको छ । मधेसी समुदायले पनि आत्मियताका साथ जितिया पर्वलाई मनाउने गर्दछ ।
नेपाली नारीहरुले मनाउने तिज जस्तै थारु समुदायका महिलाले मनाउने जितिया पर्व मनाउने गर्दछन् । महिला दिदीबहिनीले निराहार व्रत वसी तीन दिनसम्म श्रद्धा पुर्वक मनाउँछन् ।
जितियाको पहिलो दिन लाइह बाट सुरु हुन्छ । भगवान जितमहानको नाममा ब्रत आरम्भ हुने गर्दछ, यो पर्व आश्विन सप्तमी तिथिका दिन (लाइह) अष्ठमी तिथिका दिन (उपवास) र नवमी तिथिका दिन पारण गरिन्छ ।
पहिलो दिन (लाइह) नदि, तलाउ, पोखरी, कुण्डमा विधिवत स्नान गरी चिल र स्यालको नाममा घेरौलाको पातमा तेल, पिना, माटो, फुल आदि चढाइन्छ । ब्रतालुहरुले इष्टदेवलाई जलार्पण समेत गर्ने प्रचलन रहेको छ । त्यस दिनको राति सुर्योदय पूर्व स्नान गरी विधिवत ओठघन (दर खाने) खाने गरिन्छ ।
सुर्योदय पश्चात उपवास सुरु हुन्छ । उपवासको दिन ब्रतालु महिलाहरु अन्न, जल नखाई बस्छन् । त्यसको भोली पल्ट स्नान गरी विधिवत पारण गरिन्छ । पारणमा पाँच वटा अक्षत्त, केराउ र तुलसी निल्ने गरिन्छ र तत्पश्चात अन्न ग्रहण गरि व्रत समाप्त हुन्छ ।
थारु जागरण अभियान सुनसरीका अध्यक्ष तथा थारु कल्याणकारी सभाका जिल्ला कोषाध्यक्ष तारादेवी चौधरीका अनुसार थारु समुदायमा जितिया पर्वको बेग्लै महत्व रहेको छ । विवाहित महिलाहरुले खर दिनको जितिया ब्रत अनुष्ठान गरी निरन्तर जितिया ब्रत बस्ने गरिन्छ । खर दिन भन्नाले शनिबारको दिन लाई, आईतबारको दिन उपवास र सोमबारको दिन पारन पर्ने तिथि हुनुपर्दछ । जसलाई सुइध लागेको जितिया पर्व भनिन्छ, यसका साथै माईतबाट दाजु भाई लिन आउने र बहिनीले तेलपौर रोटीको कोशेली लिएर माइत जाने परम्परा अझ कायम छ ।
नवविवाहित चेलीले नाग पंचमी लागेपछि माइतीबाट लिन आउने र आएकी चेली समाचकेवा खेलेर मात्र घर पुर्याउने चलन पनि रहि आएको छ । जितिया पर्व पारिवारिक सुखशान्ति ,निस्सन्तान दम्पतीका लागि सन्तान प्राप्ति, सन्तानको दीर्घायुका लागि पर्वको मुख्य विशेषता रहेको छ ।
अर्का चर्चित तथा उदयमान गायक सुनिल चौधरीको भनाई अनुसार जितिया पर्व पहिले गाउँघरमै मात्र समिति हुन्थ्यो । कथा लगायत जितिया गीत गाउँमै मात्रै सुन्न पाईन्थ्यो तर हाल समयको परिवर्तन संगै गाउँ तथा बजार एरियामा विभिन्न जितिया महोत्वसव,कार्यक्रम हुने गर्दछ । उनले जितिया पर्वको महत्त्व दर्शाउन मैले थुप्रै थारु जितिया गीत संगितमा शब्द र स्वर समेत दिएका छन् । जातजातिको पहिचान भनेको कला, संस्कृति, गित, संगित नै हो । त्यसैले यस्ता पर्वलाई जीवन्त राख्न गित संगितले पनि अहम भूमिका खेलेको गायक चौधरी बताउँछन् ।
पर्वको अर्को महत्वपूर्ण पाटो हो, जितमहान कथा नव विवाहितले पहिलो पटक जितिया ब्रत बस्दा जितमहानको कथा सुन्नु अनिवार्य रहन्छ । थारु समुदाय कला संस्कृति र चार्डपर्वमा निकै धनी मानिन्छ । भावि पुस्तामा हस्तान्तरणका गर्न साथै अस्तित्व र पहिचान कायम राख्न सिकाई अति आवश्यकता रहेको छ । कला संस्कृति संस्कार र भेषभुषा नै जातजातिको गहना हो ।