रामधुनी । कोभिड १९ का कारण पटकपटक जारी गरिएको लकडाउनले धेरैको रोजिरोटि/राेजगारी खोसिएको छ । धेरैले रोजगारी गुमाएका छन् । हरेक क्षेत्रमा यसको असर परेकाे छ । अधिकांशले लकडाउनको समयमा भएको काम गुमेपछि घर बसेर समय बिताइरहेका छन् । लकडाउन कतिपयका लागि अभिसाप बनेको छ भने कतिपयका लागि अवसर बनेको छ । यही समयमा आफ्नो सिर्जनशिलता निखार्ने, नयाँ सिर्जनशिल काम सुरु गर्ने पनि उत्तिकै छन् ।
यसरी लामो समयदेखि गर्दै आएको रोजगारी गुमेपछि नयाँ काम सुरु गर्ने मध्येका सुनसरी रामधुनी ८ का एक हुन् रामकुमार चौधरी । उनले लामो समयदेखि गर्दै आएको काठ मिस्त्रीको काम पनि लकडाउनपछि बन्द भयो । केही समय खाली नै बसेका चौधरीको मस्तिष्कमा एकाएक हस्तकलाको काम गर्ने सोच आयो । ‘लकडाउनले रोजिरोटीनै खोसेपछि केही विकल्प त निकाल्नै पर्यो,’ उनले भने, ‘त्यसपछि दिनभरीको खाली समयमा हस्तकलाको काम गर्ने सोचेँ ।’ काठका मुडाहरु, बाँसहरुबाट विभिन्न आकृति आउने गरी उनले हस्तकलाका सामाग्री बनाउन थाले ।
काठ मिस्त्रीको काम गर्दा, काठ काट्ने, झ्याल, ढोलालगायत बनाउने गरेका चौधरीका लागि हस्तकलाका सामाग्री बनाउन सक्छु र बनाउँछु भन्ने यस अघि सोचेका थिएनन् । काठकै काम गर्दै आएपनि विभिन्न स्वरुपमा सामाग्री बनाउन त्यती सहज भने नभएको उनी बताउँछन् । सामान्य सामाग्री बनाउन एक दिन लागेपनि अलि फरक र बृहत आकृतिका सामाग्री बनाउन उनलाई तीन दिनसम्म लाग्ने उनी बताउँछन् ।
रामधुनी वडा नम्बर ८ को कार्यालय अगाडि सानो पसलमै उनले सबै सामाग्री राखेका छन् । बिहान ६ बजेदेखि राति अबेरसम्म उनी सोही सामाग्री बिक्रीको पर्खाइमा रुघेँर बस्छन् । ‘लकडाउन छ, तर पनि मेहनत गरेर बनाएका यि सामान बिक्री हुन्छ कि भनेर दिनभर कुरेर बस्छु’, सामाग्री देखाउँदै उनले भने, ‘अहिले चाँही कहिलेकाहीँ मात्र बनाउने गरेको छु । पहिलो यति बिक्री होस् या बिक्री हुन सुरु होस् त्यसपछि पुनः अरु बनाउँछु ।’ अहिलेसम्म बनाएका सामाग्री बिक्री भएका त छैनन् तर लकडाउन खुकुलो वा पूर्णरुपमा खुलेको बेला बिक्री हुनेमा उनी आशावादी देखिन्छन् ।
उनले बनाएका अधिकांश हस्तकलाका सामाग्री थारु संस्कृती र थारु समुदायका विभिन्न पर्वहरुमा प्रयोग हुने खालका छन् । कतिपय सामाग्री सजावटका लागि राख्न मिल्ने समेत छन् । अरु थप आकृतिका हस्तकला बनाउने योजना रहेको उनी सुनाउँछन् । रामधुनी वडा नम्बर ८ को कार्यालयलगायत अन्य केही संस्थाले लकडाउन खुलेपछि अथवा अवस्था सामान्य भएपछि केही समाग्री लिने तथा सहयोग गर्ने प्रतिबद्धता जनाएको उनी बताउँछन् ।
झण्डै ६ महिनासम्म हस्तकलाका सामाग्री बनाउन व्यस्त उनले अब भने केही सहज होलाकी भन्ने सोचेका छन् । उनलाई हस्तकलाका सामाग्री निर्माण गर्न कच्चा पदार्थ भने सहजै पाइँदैन । विभिन्न रुखमा हाँगा तथा ठूटाहरुबाट निर्माण गर्नुपर्ने भएपनि त्यसको अभावमा सोचेजति सामाग्री बनाउन नसकेको उनको भनाइ छ ।
लकडाउनमा गुमेको रोजगारीको बिकल्पमा सुरु गरेको हस्ककलाको काम अघि बढाउने उनको सोच पनि छ । तर, सामाग्री कत्तिको बिक्री हुन्छ र प्रतिक्रिया कस्तो आउँछ, त्यसको पर्खाइमा छन् उनी ।
‘अब लकडाउन अलि खुकुलो भएको छ, सामाग्री बिक्री हुने आशा छ । यदी यही सामाग्री बिक्रीबाट राम्रो भयोभने यसैलाई अघि बढाउँछु’ उनी भन्छन्, ‘स्थानीय तह, सम्बन्धित वार्ड तथा नगर र अन्य सम्बन्धित क्षेत्रले साथ सहयोग गरे अघि बढ्न सहज हुनेथियो ।’ उनी आत्मनिर्भर हुन चाहान्छन् । बजार ब्यवस्थापन हुन सकेमात्र स्थानीय स्तरमा निर्माण गरिएका सामाग्री बजारमा पुर्याउन सकिने र स्वरोगजार बन्न मद्दत पुग्ने उनको भनाइ छ ।