रामधुनी । सुनसरी रामधुनी ४ का हस्तबहादुर कार्कीलाई केही वर्ष अघिसम्म जुट खेतीको मोह निकै थियो । उनी सिजन सुरु भएपछि वर्षेनी जुट खेती गर्थे । तर, पछिल्लो समय कार्कीमा जुट खेतीप्रतिको आकर्षण घट्दो छ । कुनै बेला ४ सय मनसम्म उत्पादन गरेर विक्री गरेको स्मरण गर्दै कार्की पछिल्ला वर्षहरुमा भने खासै खेती गर्न मन नलागेको बताउँछन् ।
‘पहिला म ५/६ विगाहमा जुट खेती गर्थेँ’ उनी सम्झिन्छन्, ‘चार सय मनसम्म जुट उत्पादन गरिन्थ्यो । तर, अहिले त लगाउनै छाडियो ।’ झंझटिलो काम, प्रशोधन प्रक्रिया र युवाहरुको वैदेशिक रोजगारीप्रतिको बढ्दो आकर्षणले जुट खेति संकटमा परेको उनको भनाई छ । साथै धानका लागि पछिल्लो समय भित्रभित्रसम्म सिँचाई पुगेर पनि जुटप्रतिको आकर्षण घटेको उनी बताउँछन् ।
त्यस्तै कुनै समय व्यवसायिक रुपमै जुट खेती गर्दै आएका रामधुनी ६ ढेडीगाउँका किसान महिनारायण चौधरी अहिले सन्ठि चाहिनेभएर मात्रै अलिअलि खेती गर्ने गरेको बताउँछन् । स्थानीय बजारमा जुटको मूल्य प्रतिकेजी एक सय रुपैयाँसम्म भएपनि बढ्दो महगीँ र जनशक्ति जनशक्ति अभावले पनि खेती गर्न गाह्रो भएको चौधरीको भनाई रहेको छ । उनी जस्तै चौधरीसमुदायका किसान आफ्ना चाडबाड तथा मृत्युमा सन्ठि आवश्यक पर्ने भएकाले खेती गर्नेगरेको बताउँछन् । व्यवसायिक रुपमा खेतीगर्ने क्रम निकै घटिरहेको किसानहरुको बताउँछन् ।
यि दुई किसान प्रतिनिधि पात्र मात्र हुन् । पछिल्लो वर्षहरुमा नेपालको पूर्वी तराई भेगमा उत्पादन हुने जुट खेती आकर्षण घट्न थालेको छ । एक दशक अघि सम्म नगदे बालीको रुपमा रहेको जुट खेती पछिल्लो समय विविध कारणले आकर्षण घट्दै गएको छ ।
पाखो तथा उच्चा जमिनमा लगाइने जुट खेति भारतसम्म निर्यात गरेर राम्रो आम्दानि गर्न सकिन्छ । तर, पछिल्लो समय आधुनिक कृषि प्रविधिको विकास र उच्च जग्गालाई माटो कटान गरेर पानी जम्ने बनाएसँगै जुट खेति घट्दै गएको किसान बताउँछन् । सुनसरी, मोरङ र झापामा सबैभन्दा धेरै जुट खेती उत्पादन हुने गर्दछ ।
केही वर्षअघिसम्म सुनसरीको दक्षिणवर्ती सीमावर्ती क्षेत्रमा बढीमात्रामा जुट खेती हुने गरेपछि अहिले अधिकांश किसानले अन्य खेती गर्ने गरेका छन् ।