सहनशिल हुनु, लगलशिल हुनु, चोरी नगर्नु, पवित्र रहनु, बुद्धि बिबेकी हुनु, ज्ञानी हुनु, सत्य बोल्नु, हिंसा नगर्नु, दुःखीको सेवा गर्नु आदी धर्म अन्तरगत पर्छ । यही नै धर्म हो । तर पछिल्लो समय यही धर्म जल्दोबल्दो व्यापारको रुपमा रुपान्तरण भइरहेको छ ।
विश्वव्यापी फैलिरहेको कोभिड १९ (कोरोना भाइरस) को माहामारीले विश्वकै विविध क्षेत्रमा प्रभाव परिरहेको छ । विश्वको अर्थतन्त्र, धार्मिक, राजनीतिक, ब्यापारमा पनि उत्तिकै प्रभाव परिरहेको छ । अहिले ठूला ठूला पुराण तथा सभासम्मेलन र डोनेसनको प्रतिस्पर्धा पनि उत्तिकै भइरहेको छ ।
अधर्मी मानिस नै धर्म गर्न अघि तम्सिरहन्छ । दान देखि डोनेसनसम्म उनीहरुनै अग्रपंक्तिमा हुन्छन् । आयोजक पनि बडो खुसी हुन्छन्, किनकि आयोजनाको उद्देश्य नै आर्थिक संकलन हुन्छ । यसका सकारात्मक गुण पनि नभएका हैनन् । यसबाट मठ मन्दिर, आश्रम, विद्यालय, स्वास्थ चौकी लगायत थुप्रै भौतिक संरचना निर्माण भएका छन् । तर, दानको ठूलो अपेक्षा गर्ने आयोजकले दाताको आयश्रोत कहिल्यै खोज्दैन । दाताको आयस्रोतको न हिसाब हुन्छ, न त आयोजकले यो विषयमा सोच्ने नै गर्दछ ।
कतिपय दाताको आयस्रोत गैरकानुनी र भ्रष्टाचार नै हुन्छ । गैरकानुनी ढंगबाट कुम्ल्याएको पैसा नै कतिपयले डोनेसन गरिरहेका छन् । यसरी हेर्दा भ्रष्टाचारमा देवता कै संलग्नता छ । यदि भ्रष्टाचारमा देवताको छैन र यो आरोप झुटो हो भने देवाताको नाममा पैसा उठाएर भ्रष्टाचार गर्ने, भ्रष्टाचार कै पैसा दान दिने, अनि भ्रष्टाचार गर्ने र सुरक्षाका लागि भगवानलाई ठूलो प्राथना गर्नेप्रति सत्यतथ्य हिसाब गरि इश्वरले अलौकिक शक्ति देखाउन आवश्यक छ । जे होस्, भ्रष्टाचार जघन्य अपराध हो ।
नेपालमा कोरोना भाइरसका कारण धार्मिक ब्यापार बन्द छ । तर राजनीति ब्यापारको रुपमा मज्जाले फस्टाएको छ । संघीय संरचना अनुसार अहिले सात सय ५३ स्थानीय सरकार, सात वटा प्रदेश सरकार र एउटा संघीय सरकार छन् । तिनका हाँगाबिगा त गनि नसक्नु छन् । सरकार संचालन गर्न संचालक त्यति सजिलै पुगेका छैनन् । चुनावमा राम्रो लगानी हुन्छ, नेपाली राजनीति आकाशमा जो कोही समाजसेवी र धर्मतीको पहुँच पुग्दैन । राजनीति आफैमा सजिलो सेवा वा पेसा हैन । देश, भेष र परिवेश बुझ्न सक्नुपर्छ । सहनसिलता र धैर्यता आवश्यक छ । भिजन, मिसन र दुरदर्शिता राजनीतिको आधारभुत आवश्यकता हुन् ।
यि सबका बदलामा धन्यवाद मात्र पाउँछन् । यही धन्यवाद पनि पछिल्लो समय दुषित हुँदै भइरहेको छ । दिनानुदिन राजनीति ब्यापारको रुपमा फस्टाउँदैछ । राजनीतिमा भिजिलान्तेहरुको प्रवेशसँगै सत्तामा बिभिन्न बितण्डा मचिँदैछ्न । चुनावको लगानी उकासेर अर्को चुनावको लागि जोडजाम गर्न कुनै कसुर राखेका छैनन् । राहतदेखि भाडाको खानासम्ममा भ्रष्टाचार छ ।
संघीयताको अर्थ साधारणतया जनताले नजिकबाट सरकारलाई महसुस गर्नु, सृजनात्मक शासन र सेवा सुबिधा घर आँगनमा पुर्याउनु हो तर, बिडम्बना त्यस्तो हुन सकेको छैन । “मै खाइ मै लाउ सुख सयलमा मोज म गरुँ, मै हाँसु मै बाँचु अरु सब मरुन दुर्बलहरु“ भएको छ नेपाली राजनीति आकाशमा । अरु २ ठूला राजनीतिक दल निकै ठूलो संघर्ष र बलिदान पश्चात स्थापना भएका हुन् ।
यिनिहरुको स्थापनामा धेरै टुहुरा भएका छन्, धेरै सहिद भएका छन् । धेरैको सिउँदो पुछिएको छ, नेपाली राजनीतिक आकाशमा सात दसक लामो इतिहास काङ्ग्रेसले बोकेको छ । नेपालको प्रजातान्त्रिक आन्दोलनमा काङ्ग्रेसको योगदान जीवनभर अतुलनीय छ । जाहानिया राणा शासनको अन्त्य गरि प्रजातान्त्रको स्थापना गर्न काङ्ग्रेसको निकै ठूलो योगदान छ । बिपि कोइराला, गणेशमान सिंह, सुवर्ण शमसेर काङ्ग्रेसका मात्र नेता हैनन्, सबैका साझा नेता हुन् ।
उता पञ्चायती शासन व्यवस्था र राजतन्त्र अन्त्य गर्न काङ्ग्रेससँगै नेकपाको निकै ठूलो देन छ । मदन भन्डारीको सपना र संस्थापक नेता पुष्पलाल नेपाली राजनीतिक आकाशका मुख्य ब्राण्ड हुन् । जनतालाई मालिक बनाउन सामन्तवादको अन्त्य गर्दै बैज्ञानिक युगमा प्रवेश गराउन भन्दै स्वर्णिम र समुन्नत नेपालको निर्माणका निम्ति १० वर्ष जनयुद्धबाट आएको पारिको सपना र घोषणापत्र पढ्दा पनि आनन्द आउँछ ।
यी राजनीतिक दल एक आपसमा टुटफुट भए पनि विलय हुँदैन । किनकि यी निकै क्रान्ति र परिवर्तनबाट आएका हुन् । हाल नेतृत्व पनि यिनीहरूकै छ । नेपाली राजनीतिक आकाशमा उचाल्ने पछार्ने सबै यीनै राजनीतिक दलबाट हुने गरेको छ । चाहे काङ्ग्रेस होस् या कम्युनिस्ट लोकतान्त्रिक शासन व्यवस्थामा जनताको अभिमत बारुदको गोली भन्दा शक्तिशाली हुन्छ । जनताले आफ्ना प्रतिनिधिबाट शासन सञ्चालन गरेको रुचाउँछन् । यो लोकतन्त्रको आधारभूत मान्याता हो तर रक्षक नै भक्षक भएपछि कसको के लाग्छ र ? भ्रष्टाचारको जरो किलो नै यहि अडिएको छ ।
अबको निकाश
राजनीति आफैंमा परिवर्तन हो । जनताका आधारभुत कुराहरू सम्बोधन गर्नु र समय अनुसार अद्यावधिक हुनु राजनीतिको परिभाषाको एक कुनामा पर्छ । जनताले यो कुरा खोजेका हुन् । सरकार संचालनका लागि राजनीतिक दलको तर्फबाट उम्मेद्वारी दिने परिपाटी नेपालको राजनीतिमा जबसम्म रहन्छ तबसम्म पुर्ण सुशासन र भ्रष्टाचार मुक्त समाजको सपना परै रहन्छ । स्वतन्त्र व्यक्तिले छिट्पुट बाहेक चुनाव जित्न सक्दैन र वास्तविक नेता सधै गरिब हुन्छ । उ आर्थिक संकट मै रहन्छ । राजनीति आफैमा महँगो पेसा हो । चुनावमा एक छाक मासुभातमा थुप्रै मत किनिन्छ । जसकारण जनाताले स्वविबेकले मत दिने परिपाटी पूर्णरुपमा विकास भएको छैन ।
उता राजनीतिक दलहरु आफ्ना ऐतिहासिक ब्राण्डहरु भज्याएर भोट तान्न माहिर हुन्छन् । काङ्ग्रेसका लागि बिपि, गणेशमान, सुवर्ण शमशेर र कम्युनिस्टका लागि पुष्पलाल, मदन भण्डारी र जीवराज आस्रित निकै चलेका ब्राण्ड हुन् । यिनीहरूलाई भज्याएर भोटको ब्यापार बन्द गर्नैपर्छ । नागरिक तबरबाट नै यस्तो आवाज आउन आवश्यक छ । राजनीतिको रुप रङ्ग परिवर्तन गर्दै शिक्षित सक्षम युवा राजनीतिमा हाम फाल्न जरुरी छ । राजनीतिमा सबैको पहुँच स्थापना गर्न आवश्यक छ ।
अध्ययनशिल र गतिशील मानिस राजनीतिमा आउनु पर्छ । हिजो काङ्ग्रेसको सरकार थियो । उसका पालामा पनि केहि भ्रष्टाचारजन्य गतिविधि भए, आज नेकपाको सरकार छ काङ्ग्रेसलाई किन नजित्ने भनेर लागेको खण्डमा नेपाल को ‘पा’ हटेर नेल मै तड्पी रहन्छ । त्यसकारण आर्थिक विकास र सम्मुनत नेपाल निर्माणका लागि जनस्तरबाट खवरदारी गर्नु आवश्यक छ र सबै सरोकारवालाहरु एक पटक उठ्न जरुरी छ ।